भारतबाट लुकिछिपी आएका कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो १० दिनभित्रै भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँपालिका ५ का ८ जना र बुद्धभूमि गाउँपालिका ७ का २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकाहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेका छन् ।
बुद्धभूमिको महेन्द्र मावि गोरुसिंगे र यशोधराको अनिरुद्ध मावि बैदौलीमा रहेका क्वारेन्टाइनमा बसेकासहित २ सय ९० जनाको स्वाब संकलन गरिएकोमा ९९ जनाको रिर्पोट आएकोमा १० जनाको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।
‘क्वारेन्टाइनमा रहेकाहरुको स्वाब लिने क्रम जारी छ, क्वारेन्टाइनमा आउनेहरुको स्वाब काठमाडौँ पठाइएकोमा अहिले १० जनाको रिपोर्ट पोजेटिभ र ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ’,उनले भने–क्वारेन्टाइनमा रहेका अरुको रिपोर्ट आउने क्रममा छ ।’
संक्रमित १० जनालाई बुटवलस्थित कोरोना अस्पतालमा पठाउने उनले बताए । ‘उनीहरुलाई बुटवल पठाएपछि उनीहरुको सम्पर्कमा आउनेहरुको विवरण खोजिने छ र परीक्षणलाई थप विस्तार गरिनेछ’, उनले भने । कपिलवस्तुका क्वारेन्टाइनमा आइतबारसम्म १ हजार २ सय ४४ जना रहेका छन् । तर, भारतबाट लुकिछिपी आउनेहरु नरोकिएकाले यो संख्या बढ्दै गएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले बताए ।
‘सीमामा सुरक्षाकर्मीहरु रहेपनि बाटो छलेर आइरहेको भन्ने सूचना छ, त्यसकारणले पनि क्वारेन्टाइनमा रहेकाहरुको संख्या बढिरहेको छ’, उनले भने । सोमबार १० जना थपिएसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । यसअघि मायादेवीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कपिलवस्तुमा थप १० जनामा संक्रमण देखिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । यसअघि बाँकेमा २४, कपिलवस्तुमा ५ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण देखिएको थियो ।