मोरङ-नेपाल विद्यार्थी संघ मोरङ्गका पूर्व पदाधिकारीहरुले नेपाली भूमिमाथि भएको अतिक्रमणविरुद्ध विरोध जनाएका छन् ।
सोमबार विराटनगरको मेनरोडमा आयोजित कार्यक्रममा पूर्व पदाधिकारीहरुले भारतको हेपाहा प्रवृत्तीप्रति भर्त्सना गरेको छ । कोरोनाभाइरस कोभिड १९ का कारण सामाजिक दुरी कायम गर्दै सडकमा आयोजना गरिएको विरोध कार्यक्रममा नेपाली कांग्रेस प्रदेश एकका सचेतक सुयर्माराज राईले भारतीय हस्तक्षेपले नेपालमाथि नै सिंगो प्रहार भएको बताएका छन् ।
विराटनगरस्थित स्नात्तकोत्तर क्याम्पस नेविसंघका पूर्व कोषाध्यक्ष समेत रहेका राईले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली भूमि भएको प्रमाण रहदाँरहदैं पनि छिमेकी राष्ट्र भारतले जबरजस्ती भूमि अतिक्रमण गरेर हेपाहा प्रवृत्ती प्रस्तुत गरेको बताए ।
नेपालको सहमति र सम्झौता विना भारतका रक्षामन्त्री राजनाथ सिंहले धार्चुला हुदै मानसरोवरसम्म सडक खुला गरेकोमा आपत्ती जनाए। विरोधका क्रममा उनले भने, ‘भारतको यस्तै रवैया रहे वा अहिलेको समस्याको निकास नआएको खण्डमा नेपाली जनता देशको रक्षा र अतिक्रमित भूमि फिर्ता गराउनका लागि बलिदान दिन तयार रहेको छ ।’
कार्यक्रममा नेविसंघ मोरंगका पूर्व सचिव विमल संग्रौलाले भारतले बनाएको सडकले तरंगित बनाएको उल्लेख गरे। अहिले कोभिड १९ बाट सवत्र आक्रान्त बनिरहेको अवस्थामा भारतले एकपक्षीय ढंगबाट नेपाली भूमि मिचेको बताएका पूर्वसचिव संग्रौलाले अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस महानगर समितिका कार्यवहाक सभापति अरुण न्यौपानले नेपाल सरकारले भारतले गरेको अतिक्रमणविरुद्ध आवाज समेत निकाल्न नसकेको उल्लेख गरे ।
उनले भने, ‘भारतले गरेको कामको कडा विरोध गर्न नेपाली जनतानै बाहिर निस्कनुपर्ने अवस्था सृजना भइरहेको छ।त्यसैले भारतले विगार गरेको काम सच्याउनु बाहेक विकल्प छैन ।’ आधा घण्टाभित्र सकिएको विरोध कार्यक्रमपछि नेविसंघका पदाधिकारीहरुले भारतको कामकार्वाहीप्रति नारा लगाउदै भत्र्सना गरेका थिए ।