लिपुलेकमा शसस्त्र प्रहरी पठाउने तयारी

लिपुलेकमा तत्काल बोर्डर अब्जरभेसन पोष्ट-बीओपी पठाउने सरकारको तयारीपछि शसस्त्र प्रहरी बल-एपीएफ मुख्यालयले त्यस ठाउँमा आफ्नो टोली बस्ने ठाउँ खोजिरहेको छ ।

शसस्त्र प्रहरी प्रवक्ता प्रविन श्रेष्ठले सिमाभन्दा करिब एक किलोमिटर भित्र रहेको छाङ‌रुमा बीओपी बस्ने ठाउँ खोजिरहेको जानकारी दिए । ‘हामीले बीओपी बस्ने ठाउँका लागि जग्गा प्राप्त गरिसके पनि मौसमी प्रतिकुलताका लागि संरचना तयार हुन सकेको थिएन। अहिले सरकारले तत्काल पठाउनुपर्ने निर्देशनपछि हामी भाडामै भएपनि भवन खोजिरहेका छौँ’, नायब महानिरिक्षक-डीआईजी श्रेष्ठले भने ।



सरकारले केही महिना अघि सिमामा बीओपी संख्या एक सय १४ वटा थपेर २ सय २० पुर्‍याउने निर्णय गरेको थियो। त्यसमा छाङ‌रु पनि समावेश थियो। हाल बीओपीको संख्या एक सय २० वटा रहेको छ । सरकारको निर्णयपछि एपीएफले भारत र चीनसँगको सिमानामा ८ वटा बीओपी थप गरेको छ। यसअघि चीनसँगको नाकामा बीओपी नरहेकामा हालसालै संखुवासभाको किमाथांकामा बीओपी स्थापना गरिएको थियो ।

हरेक बीओपीमा प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको टोली रहन्छ। शसस्त्र प्रवक्ता श्रेष्ठले भवनको उपलब्धता र क्षमताअनुसार यो संख्या तलमाथी हुन सक्ने बताए। ‘कति मान्छे अँट्न सक्ने भवन प्राप्त हुन्छ त्यही अनुसार हामी जनशक्ति पठाउँछौँ’, उनले भने ।

त्यसअघि सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितीको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले तत्काल शसस्त्र प्रहरी पठाउने तयारी भइरहेको जानकारी गराएका थिए ।
नेपाली भूमिमा पर्ने लिपुलेक क्षेत्रमा भारतले चीनसँग जोड्ने सडक मार्ग बनाइरहेको समाचार बाहिर आएपछि राजधानीमा दिनहुँजसो भारत सरकारविरोध प्रदर्शनहरु भइरहेका छन् । भारतले नेपालको जमिन अतिक्रमण गरेको र सरकार लाचार भएको भन्दै सिमा विवाद समाधान गर्न चौतर्फी दबाब बढेको छ ।

डीआईजी श्रेष्ठले लिपुलेकको बीओपीका लागि आवश्यक पर्ने अन्य भौतिक र प्राविधक तयारी पनि भइरहेको बताएका छन् । मेडिकल सामग्री र मौसमी प्रतिकूलता विरुद्ध जुध्‍ने अन्य उपकरण लगायत बन्दबस्तीका सामग्रीको तयारी भइरहेको शसस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार