नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० बैशाख ।
कोरोना भाइरसका कारण नेपाल अहिले लकडाउनको अवस्थामा छ । एक साताबाट आरम्भ भएको लकडाउन निरन्तर लम्ब्याउँदै लगिएको छ र यसले ४८ औं दिन पार गरेर अगाडि बढ्दा निम्न आय भएका, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दैगरेका सीमान्तकृत वर्गका मानिसहरू कोरोनाले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको छ । यस विषम परिस्थितिमा कतिपय व्यक्ति तथा संस्थाले मानवीय सहयोगको हात अगाडि बढाएका छन् ।
यसैक्रममा नागार्जुन नगरपालिका वडा नं. १०, स्युचाटारमा रहेको तारकेश्वर युवा क्लबको विशेष सक्रियतामा आफ्नो क्षेत्रका असहज र अप्ठ्यारो भोगिरहेका वर्गको पहिचन गरी दैनिक रूपमा ३०० देखि ३५० जना व्यक्तिलाई निःशुल्क खाना ख्वाउने कार्य गरिरहेको यस कार्यको संयोजन गरिरहेका श्यामकृष्ण खड्काले बताए ।
‘सरकारले अपनाएको मापदण्डमा बसेर सामाजिक दुरी कायम गर्दै नगरपालिका र वडासँग समन्वय गरी कार्यक्रम गरिरहेका छाैं’ क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले भने– ‘सहृदयी मनहरूबाट प्रत्यक्ष वा परोक्ष रूपमा प्राप्त आर्थिक एंव भौतिक सहयोगलाई संयोजन गरी खाना ख्वाउने कार्यलाई निरन्तरता दिइरहेका हौं ।’
यस कार्यलाई निरन्तरता दिन आर्थिक तथा भौतिक सहयोग संकलनमा नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य रमेशकुमार महतको विशेष सक्रियता र सहयोग रहेको पनि जानकारी गराइयो । महतसँग सम्पर्क गर्दा उनले कोरोनाको महाविपत्तिले निम्त्याएको अप्ठ्यारो परिस्थितिमा थोरै भए पनि सहयोग गर्न पाउदाँ आफूलाई खुशी लागेको बताए ।