किट अभावले क्वारेन्टाइमा राखिएका सात हजार जना परीक्षणविना घर फिर्ता

जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो । कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए ।

‘जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर एक साता घरमा सेल्फ आइसोलेशनमा रहन भनेका छौं’, आचार्यले भने । कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्य प्रमुख अनिल केसीले बताए । लकडाउन अवधिभर काठमाडौंलगायत अन्य स्थानबाट हजारौं मजदूर जिल्ला आएका थिए । कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ । एक हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।



आज मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा तीन महिला र सात पुरुष बसेका छन् । आज ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा २८ महिला र ३० पुरुष बसेका छन् । चौबीस जना घर फर्किएका छन् ।

त्यस्तै सोमबारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट सात हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिए । अहिलेसम्म जिल्लाभर आइसोलेशनमा राखिएका १३ जना घर फर्किसकेको तथा अन्य पाँच जनालाई आइसोलेशनमा राखिएको स्वास्थ्थ कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार