भारतले लखेटेपछि नाकामा थुप्रिँदै नेपालीहरु

भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु घर फर्किरहेका छन् । लकडाउनका बीचमा घर फर्किरहेका नेपालीलाई नाकामा प्रहरीले रोकेको छ । भारतमा समेत लकडाउन चलिरहँदा नेपालीहरु सहजै नाकासम्म आइपुग्दा नेपालका अधिकारीको टाउको दुखाई भएको छ ।

सोमबार राति बाँकेको नाकामा पनि ५१ जना आइपुगेका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले कालाफाटा २९ र खडैचा नाकामा २२ जना आइपुगेका छन् । उनीहरुलाई प्रहरीले रोकेको छ । लामो समयसम्म लकडाउन चलिरहँदा भारतीय प्रहरीले नेपालीलाई नाकासम्म आउन दिइरहेको छ । भारतीय प्रहरीले आँखा चिम्लिदिँदा नेपालीहरु नाकामा थुप्रिँदै गएका छन् ।



नेपालगञ्जमात्रै होइन, ५ नम्बर प्रदेशको रुपन्देही, कपिलबस्तुमा समेत भारतबाट भागेर लुकिछिपी आएका नेपालीमा कोरोना देखिएको छ । यो अवस्थामा नाकामा आइपुगेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने स्थानीय अधिकारीहरु तनावमा परेका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवले के गर्ने भन्ने बारेमा स्थानीय स्तर र केन्द्रसँग छलफल गरिरहेको बताए ।

भारतबाट फर्किएका नेपालीहरु नाकामा आइपुगेको समस्या बाँकेको मात्रै होइन । देशभरकै हो । यस्तोमा उनीहरुलाई नेपाल प्रवेश दिएर क्वारेन्टाइनमा राख्ने कि नाकामै रोकिरहने यी दुई विकल्पका बारेमा छलफल भइरहेको छ । बाँकेमा यसअघि भारतबाट आएका एक सय ८१ जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरेर घर जान दिइएको थियो । त्यसअघि चैत्र १० गते ठूलो संख्याका नेपालीहरु क्वारेन्टाइनमा राख्ने मेलोमेसो मिलाउँदा मिलाउदै निस्केर हिँडेका थिए ।

पछिल्लो समयमा नेपालमा रहेका भारतीयलाई यतै क्वारेन्टाइनमा राख्ने र भारतमा रहेका नेपालीलाई उतै व्यवस्थापन गर्ने मौखिक सहमति अनुसार काम भइरहेको थियो । लकडाउन लम्बिँदै जादा सहमति तोडिन थालिएको छ । बाँके प्रशासनले एक सय १९ बढी भारतीयलाई बाँकेको क्वारेन्टाइनमा राखिरहेको छ । जबकि उनीहरुको स्वास्थ्य जाँच गर्दा नेगेटिभ आइसकेको छ ।

६५ किलोमिटरमा फैलिएको बाँकेको दक्षिणी नाकामा ५५ ठाउँमा सशस्त्र र २३ ठाउँमा नेपाल प्रहरी बसेको छ । लकडाउनका बेलामा घुसपैठ हुन सक्ने भन्दै नाकामा सुरक्षाकर्मी बढाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पहुँच बढेकै छ ।

दुवै देशका अधिकारीहरुले अवैध घुसपैठ रोक्ने भनिरहदा भारतले नेपालीलाई नाकासम्म आउन दिएर समस्या बढाएको छ ।

भारतीय क्वारेन्टाइनमा बसेका र स्वास्थ्य जाँच गर्दा नेगेटिभ देखिएका नेपालीहरु घर जान पाउनु पर्छ भनेर आउनु अनुचित पनि नहुन सक्छ ।

सम्बन्धित समाचार