प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण दिनदिनै फैलिरहेका बेला लकडाउन खुकुलो बनाउनु सही नभएको बताएका थिए ।
‘अहिले काठमाडौंमा लकडाउन छ र१’ प्रधानमन्त्रीले पछिल्ला दिनमा काठमाडौंका सडकमा देखिएको ट्राफिक जामलाई संकेत गर्दै प्रश्न गरेको एक मन्त्रीले बताए । मान्छेको जीवनभन्दा अर्थतन्त्र ठूलो नभएकाले खुकुलो भएको लकडाउन कडा बनाउन प्रधानमन्त्रीले निर्देशन दिएको ती मन्त्रीले बताए ।
पछिल्लो समय सरकारले गत शुक्रबारदेखि विभिन्न किसिमका ४२ उद्योगहरू चलाउन दिने निर्णय गरेको थियो। उद्योग र पसलहरू चल्न दिने निर्णय गरेसँगै काठमाडौंका सडकमा बिहान र बेलुका ट्राफिक जाम हुन थालेको छ ।
लकडाउन खुकुलो भएकै दिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । सोमबार २४ र मंगलबार ५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। अहिले संक्रमितको संख्या १९१ पुगेको छ ।