एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६-७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कारण सिर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आवको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२% (रू. ३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ भने यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १०% (रू. २६ करोड) को वृद्धि सहित रू. २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस आवको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पु-याएको छ । कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एशिया बैंक देशमै अग्रणी मध्येमा देखिन्छ ।
बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्युन जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधीकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४% कर्जा यस्ता क्षेत्रमा गरेको जनाइएको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधीकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५% भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
बैंक निक्षेपतर्फ पनि विविधीरणको रणनीति अनुरूप अघि बढिरहेको जनाइएको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ % रहेको छ । बैंकले चालु आवको ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेप तर्फ १० ग्राहकहरूको अंश ११% रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिने बैंकको दाबी रहेको छ ।