मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय विहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब बैंकका कर्मचारीहरुले परिचय पत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने जानकारी दिए । सिमित शाखाहरु खोल्नका लागि राष्ट्र बैंकले बुधबार बैंकहरुलाई केही पास वितरण गरेको छ ।
पास लिएर मात्रै बैंकका कर्मचारीहरु आवातजावत गर्न पाउने छन् । ढकालका अनुसार राष्ट्र बैंकले २७ वाणिज्य बैंकहरुलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरुलाई १० वटाका दरले पास दिएको छ ।