संक्रमित बढेपछि आजदेखि लकडाउन कडा, यस्ता छन् नयाँ नियम

नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आजदेखि लकडाउनमा पुनः कडाई गरेको छ । मंगलबार यता अस्वाभाविक तवरले संक्रमित संख्या बढेपछि सरकारले एक जिल्ला र अर्को जिल्ला आवातजावत गर्नेहरुको पास रद्द गर्दै कडिकडाउ गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए । अब एउटा जिल्लाबाट अर्कौ जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्नेछ ।



सञ्चालन हुन पाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ । गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ ।

आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइने छैन । पास लिंदै विभिन्न बहानामा मानिसहरु सवारी साधन लिएर सडकमा देखिनथालेपछि सरकारले लकडाउन कडा पार्ने निर्णय गरेको हो ।

समुदायमा कोरोना भाइरस पुगिसकेकाले जोखिम कम गर्न सरकारले लकडाउनमा कडाई गर्न लागेको हो ।

सम्बन्धित समाचार