अस्पतालका कुनै पनि वार्ड सिल गरिएको छैन : त्रिवि शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि अस्पतालको कुनै पनि वार्ड सिल नगरिएको अस्पताल स्रोतले जनाएको छ ।

घाँटीको समस्या देखिएर उपचारका लागि ल्याइएकी बुटवलकी बालिकामा कोरोना भाइरसको संक्रमण बिहीबार बिहान पुष्टि भएको हो । त्यसपछि अस्पतालको इएनटी वार्ड सिल गरिएको भन्ने खबर आएको थियो । तर अहिलेसम्म कुनै पनि वार्ड सिल नगरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताएका छन् ।



कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बालिका विगत एक वर्ष भन्दा लामो समयदेखि त्रिवि अस्पतलमा नियमित उपचारमा रहेको र सोही क्रममा अहिले पनि अस्पताल आएको उनले बताए । उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकी बालिकालाई कोभिड–१९ को उपचारका लागि बनाइएको विशेष वार्डमा राखिएको उनले जानकारी दिए । अब के गर्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको उनले बताएका छन्

सम्बन्धित समाचार