कोरोना भाइरसले संक्रमित भइ उपचार गराईरहेका बिरामी अस्पतालको आइसोलेशनबाट भागे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्नेछन्।
संक्रमित भई अस्पतालको आईसोलेशनमा उपचारको लागि अस्पतालमा भर्ना भएका संक्रमित भागेको खण्डमा त्यस्ता संक्रमितलाई नियन्त्रण्मा लिन अधिकतम बल प्रयोग गरिने तथा सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने अधिकार प्रदान गर्ने जिल्ला संकट व्यस्थापन समिति पर्साले निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गत बुधबार नारायणी अस्पतालको आईसोलेशनमा कोरोना संक्रमित दुई जना शौचालय जाने बहानामा भेन्टिलशन फोरेर भागेको घटनालाई विश्लेषण गर्दै अब उपरान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सर्तकता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवशयकता अनुसार बल प्रयोग गर्ने र गोलीसमेत चलाउन सक्ने अधिकार दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
अस्पतालबाट भागेका दुवै संक्रमितलाई प्रहरीले भागेकै दिन एक जनालाई वीरगञ्जकै तिलावे पुल र अर्कोलाई उनको मामाघर धोबिनी गाउँपालिकाबाट नियन्त्रणमा लिएर पुनः अस्पतालको आईसोलेशनमै भर्ना गरेको थियो ।
‘नारायणी अस्पतालको आईसोलेशनमा रहेका कोरोना संक्रमित दुई जना शौचालय जाने बहानामा भेन्टिलशन फोरेर भागेको र सुरक्षाकर्मीले नियन्त्रणमा लिईसकेको घटनाको बारेमा विश्लेषणात्मक समिक्षा गरियो’, जिल्ला प्रशासन कार्यालयले जारी गरेको समितिको बैठकको निर्णयमा उल्लेख गरिएको छ, ‘अब उपरान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सर्तकता अपनाउने र भाग्न खोज्नेलाइ नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने।’
साथै बैठकले यसअघि वितरण गरिएको ई-पास समेत खारेज गरेको छ।