धुलिखेल अस्पतालमा निधन भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निधन हुने उनी पहिलो संक्रमित हुन् । सिन्धुपाल्चोक राम्चेकी ती महिलालाई स्वाशप्रश्वासमा समस्या देखिएपछि विहीबार धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याएको केही क्षणमै उनको मृत्यु भएको थियो ।
बैशाख २५ गते ती महिलालाई शिक्षण अस्पतालले डिस्चार्ज गरेपछि दुई दिन बालाजुस्थित डेरामा राखेर घर पुर्याइएको थियो । घर पुर्याएपछि स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य समस्या आएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पनि लगिएको थियो । प्राथमिक केन्द्रले धुलिखेल लैजान सुझाव दिएको थियो ।
धुलिखेलमा मृत्युपछि महिलाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण पोजेटिभ देखिएको अस्पताल स्रोतको भनाई छ ।
थप परीक्षण कार्यका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।