लकडाउनका कारण समस्यामा परेका लमजुङस्थित दोर्दी गाउँपालिकाका बासिन्दालाई काठमाडौँमा राहत वितरण गरिएको छ ।दोर्दीबाट काठमाडौं आई बसेर दैनिक ज्याला मजदूरी गर्ने, अध्ययन गर्ने तथा अन्य पेशा व्यवसाय गरेका दोर्दीबासीलाई कोरोना हेल्प डेस्क दोर्दी–काठमाडौं र अर्चलबोट काठमाडौं एकता समाजको सहजीकरणमा खाद्य पदार्थ वितरण गरिएको हो ।
काठमाडौंका विभिन्न स्थानमा रहेका दुई सय दोर्दीबासीलाई प्रतिव्यक्ति एक बोरा जिरा मसिनो चामल, दुई किलो दाल, एक लिटर तेल, साबुन, नूनलगायत सामग्री वितरण गरिएको स्थानीयवासी शिव जोशीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा काठमाडौंमा राहत वितरण गरिएको हो । दोर्दीबासी तथा लोकगायक निराजन कुँवर, सुवास शर्मालगायतले राहत वितरणमा सहयोग गरेका थिए ।
अर्चलबोट काठमाडौं एकता समाजको अध्यक्षसमेत रहेका निराजन कुँवरले आज पनि राहत वितरण हुँने जनकारी दिए । काठमाडौंमा रहेका स्थानीयवासीलाई समस्या भयो भन्ने गुनासो आएपछि गाउँपालिकाले मजदूर र विद्यार्थीलाई प्रतिव्यक्ति रु दुई हजार ७५ बराबरको खाद्य पदार्थ राहतस्वरुप वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए । गाउँपालिकाले समस्यामा परेका स्थानीयवासीलाई सहयोग गरेको बताउँदै उनले अन्य स्थानमा समस्यामा परेका दोर्दीबासीलाई सम्पर्कमा आउनसमेत आग्रह गरे । ‘लकडाउनका कारण जुनसुकै जिल्लामा रहेका दोर्दी बासीले समूह बनाएर हामीलाई सम्पर्क गर्नुहोस्, हामी हाम्रो तर्फबाट सक्ने सहयोग गर्न तयार छौँ’, उनले भने ।”
उनका अनुसार गाउँपालिकामा रहेका विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने ७९२ घरपरिवारलाई २० किलोको एक बोरा चामल, दुई किलो चिनी, दाल, तेल, साबुनलगायत सामग्री वितरण गरिएको थियो । त्यस्तै गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजना र पुनःनिर्माणमा कार्यरत ५२६ मजदुरलाई समेत राहत वितरण गरिएको र बाह्य जिल्लाबाट आएका ३८३ मजदूरलाई आफ्नो गन्तव्यमा पठाइएको उनले जानकारी दिए ।
लकडाउनपछि बाह्य जिल्लाबाट गाउँपालिकामा आएका १० जनालाई गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ । यसअघि लमजुङकै राइनास नगरपालिकाले काठमाडौंमा रहेका ६३ राइनासबासीलाई खाद्य पदार्थ सहयोग गरेको थियो । प्रतिव्यक्ति रु दुई हजार सात सयका दरमा एक बोरा चामल, तीन किलो दाल, दुई लिटर तेल, दुई किलो नून, साबुन, भुजा, दालमोठलगायत सामग्री वितरण गरिएको थियो ।