पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्सियस रहेको छ । ‘अबको केही दिन तापक्रम निरन्तर वृद्धि भइरहने छ’, उनले भने ।
कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै दिपालको ३६ दशमलव पाँच, धनगढीको ३७ दशमलव पाँच, वीरेन्द्रनगरको ३४ दशमलव पाँच, दाङको ३४ दशमलव सात, पोखराको ३१ दशमलव शून्य , सिमराको ३६ दशमलव पाँच र धनकुटाको २५ दशमलव छ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ ।