दिवेशले अमेरिकन आइडलमा रचेको इतिहास

अमेरिकन आइडलको १८ औँ सिजन सामान्य भन्दा फरक रह्यो । विश्व कोरोनाको भाइरस महामारीले आक्रांत बनेको बेलामा विश्वभर भएका नेपालीलाई एक प्रकारको खुसी मिल्यो। नेपाली मुलका गायक दिवेश पोखरेल चर्चित गायन रियालिटि शो ‘द अमेरिकन आइडल’ को ‘फस्ट रनरअप’ भए ।

यो पहिलो घटना हो, जहाँ अमेरिकन मञ्चमा भएको गायन प्रतियोगितामा नेपाली कलाकार यति माथि पुगेका छन् । २२ वर्षका दिवेश पोखरेल जसलाई आम सांगीतिक समाजले ‘आर्थर गन’ भनेर चिन्छन्, अब उनी नेपालीको मनमा मात्र सीमित छैनन्, विश्वभर भएका संगीत प्रेमीको मनमा बसेका छन्। र यो यात्रा अप्रत्याशित भयो, अमेरिकन आइडलको मञ्चबाट । सन् २०२० को मे १८ मा दिवेश अमेरिकन आइडलको फिनालेमा पुगे र फस्ट रनरअप भए ।



शायद यही दिनको लागि दिवेश काठमाडौँबाट अमेरिकाको ‘कान्सस’ राज्यमा पुगे, परिवारसाथ । अमेरिकन आइडलको मञ्चमा पुगे अनि आफ्ना सबै ‘कम्र्फट जोन’ तोडे। पहिलो प्रस्तुतिमा निर्णायकबाट प्रतिक्रिया पाए, ‘यू आर द रक स्टार ’। निर्णायक प्रतिष्ठित संगीतकर्मी केटी पेरी, ल्यूक ब्रायन र लाइनो रिचीहरुले उनलाई सुरुको दिन देखि नै रुचाएका थिए ।

तीन महिना अगाडि पहिलोपल्ट सुरु भएको दिवेशको यो यात्रा अहिले फस्ट रनरअप सम्म आइपुगेको छ । उनी थोरै मानिसको समूहबाट लाखौँ, करोडौँको चासोको विषय बनेका छन् ।

अमेरिका जानु अगाडि दिवेश नेपाली संगीतमा काम गरिरहेका थिए, उनको जन्म नै काठमाडौँमा भएको हो। उनको एउटा एल्बम आएको थियो। सन् २०१८ मा उनले गाएको गीत हालै यूट्यूबमा भेट्न सकिन्छ । सन् १९९७ मा जन्मिएका दिवेशले सन् २००५ देखि गाउँन थालेका हुन्, जतिबेला उनी जम्मा ८ वर्षको मात्र थिए। एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई पहिलोपल्ट मेरी आमाले गीतार ल्याइदिनुभएको हो, म रेडियोमा, टेलिभिजनमा हेरेर गीत गाउन सिक्थे। मेरो सपना यसरी सुरु भयो ।’

ठूलो हुँदै जाँदा संगीतप्रतिको उनको मोह बढ्दै बढ्दै गयो । पहिला पहिला केही समयमात्र संगीतमा जोडिने दिवेश किशोर अवस्थामा आइपुगेपछि धेरै समय संगीतलाई दिन थाले। उनले संगीतमा सपना देख्न थाले केही प्राप्त गर्ने । भनिन्छ उनको एक अभिभावक दिवेशले रोजेको यो बाटोको पक्षमा थिएनन् । तर पनि दिवेश गीत गाउँदै हिँड्न थाले, महोत्सवमा सहभागी हुन थाले । दिवेशलाई नेपाली लोक भाकाको पनि राम्रै ज्ञान छ। अहिले उनका परिवार पनि  खु्शी छन् ।

उनी आउँदो पिँढीलाई प्रेरणा दिन चाहन्छन्। प्रतियोगीता कै समयमा उनले भनेका थिए, ‘म विश्वभरमा भएका सबै युवा पिँढीलाई प्रोत्साहन गर्न चाहन्छु ।’

यो भन्दा अगाडि नेपाली मुलका प्रशान्त तामाङ ‘इन्डियन आइडल–२००७’ मा सहभागी भएका थिए । प्रशान्तलाई जिताउन नेपाली लागेको थियो। अहिले दिवेशलाई पनि विश्वभर रहेका नेपाली अनि गैर नेपालीले साथ दिएका छन् । नेपाली ‘रक म्यूजिक’ विकासमा दिवेशसँग आशा जोडिएको छ ।

सम्बन्धित समाचार