बाँकेको नरैनापुरमा मात्र सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ । कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ ।
सोमबार थपिएका संक्रमितको दुई दिनअघि शनिबार स्वाव लिइएको थियो। नरैनापुरको वडा नं. २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोजभगवानपुरबाट ३९ (एकजना मृत्यु), वडा नं. ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो। यीबाहेक ११ जनाको आइतबार स्वाव लिइएको छ। आठ जना संक्रमितमध्येमा दुई जना घरउसर् र ससुराली गएको पाइएपछि आफन्तीको स्वाब लिइएको थियो।
नरैनापुर किन र कसरी बन्यो, कोरोनाको हटस्पट ?
पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरै जना भित्रिएका छन्। भारतको महाराष्ट्रमा पुगेका धेरै जना नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको हटस्पट बनेको हो ।
यो पालिकामा अझै मान्छे आउने क्रम रोकिएको छैन। राज्यको ठूलो शक्ति नेपालगञ्जको मुख्य नाकामा केन्द्रित छ। तर, जिल्लाको भूगोल बुझेका मानिसहरुले पूर्वको यो नाका प्रयोग गरिरहेका छन् ।
नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज मानेका छन् । बाँके प्रहरीले रातीमा गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति त बनाएको छ। तर, ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिसहरु प्रवेश गरिरहेका छन्। धेरै गाउँहरु पारी भारतीय गाउँ, वारी नेपाली गाउँ छन् । बीचको आँगनले देश छुट्याएको छ । त्यसमा भारतीय प्रहरीले सहजै आउन दिएपछि नेपालीलाई घर फर्किन सजिलो भएको छ ।
गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, पहिला क्वारेन्टाइनमा बसुन् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टाइनमा राखेको छ ।
जिल्लाको पूर्वी दक्षिण यो पालिकाबाट ठूलो संख्याका मानिस भारतमा रोजीरोटीका लागि पुग्ने गर्दछन्। प्रायः कारोबार भारतीय बजारमा नै हुन्छ । कोरोनाको शुरुवाती चरणमा नेपालगञ्जको वडा नं। ८ हटस्पट बनेपनि अहिले आएर यो पालिका अगाडि आएको छ । भारतबाट आउनेले नै कोरोना बोकेर आएका छन् ।
दिपेन्द्र माविका ३८ जनालाई अन्यत्र सारियो
नरैनापुरको वडा नं. ५ को दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन मावि, भोजभगवानपुर सारिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, दिपेन्द्र माविमा रहेका २५ वर्षीय युवकको मृत्यु भएपछि त्यहाँ रहेका अरुलाई अन्यत्र सारिएको हो । दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन माविको छेउमा टेन्ट टाँगेर राखिएको छ ।
स्वास्थ्य शाखाका प्रमुख खाँका अनुसार, नरैनापुरमा भित्रिनेको संख्या बढिरहेको छ । पालिकाले क्वारेन्टाइन पनि थपेको छ । अहिले त्यहाँ १३ वटा क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइनमा ७ सय ७९ जना बसिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले एक हजार एक सय ६४ पुरुष र ६१ जना महिला गरी एक हजार दुई सय २५ जना क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । शनिबारसम्म क्वारेन्टाइनमा बस्ने एक हजार एक सय २६ जना थिए ।