प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्ना नागरिक बचाउन नसक्ने सरकारे सीमा जोगाउँछ भन्ने भ्रम आफूलाई नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सीमा र खाडी मुलुकमा रहेका नेपाली कोरोनाको कारण विचल्लीमा परेको र सरकारले जोगाउन नसकेको आरोप लगाएका हुन्।
‘संसदमा राष्ट्रियताको विषयमा बहस हुन्छ। राष्ट्रियता भनेको माटो र मान्छे दुवै हो,’ उनले भने, ‘मान्छे जोगाउन नसक्नेले माटो पनि जोगाउन सक्दैन ।’ सरकारको नीति तथा कार्यक्रम हेरेर आफू लज्जित भएको उनले बताए।
सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने र लुटेको भूमि फिर्ता ल्याउने घोषणा गर्दा सदनमा आफूले समेत टेबुल ठोकेको उनले स्मरण गराए ।