कोशी अस्पतालबाट थप एक जना संक्रमित डिस्चार्ज, नेपालमा ३७ जनाले जिते कोरोनालाई

प्रदेश १ को विराटनगरस्थित कोरोना संक्रमितको उपचारका लागि स्थापित कोशी कोरोना उपचार केन्द्रबाट थप एकजना डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको हो ।

पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले मङ्ग्रातीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए ।



मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यससँगै नेपालमा ३७ जनाले कोरोनालाई जितेका छन् ।

सम्बन्धित समाचार