नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गरेका छन् । थापाले संसदीय समितिले पटकपटक दिएको निर्देशनको पालना गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गरेर संसदको गरिमा राखेकोमा सरकारलाई धन्यवादसमेत दिए ।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा थापाले सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ता ल्याउने विषयमा आशा र आशंका देखिएको भन्दै केले जित्ला भनेर प्रश्न गरे ।
थापाले प्रश्न गरे, ‘केही मानिसहरु आशंका गर्दैछन् कि प्रमज्यूले अबको नक्सा भूमि फिर्ता गराउन ठोस पहल कदमीका लागि होइन बरु नक्सा जारी गरेकोमा महिनागान गर्दैर गराउँदै घरभित्रका अन्य कमजोरी ठाकछोप गर्न प्रयोग गर्नुहुनेछ ?’
थापाले भने, ‘केही मानिसहरु आशा गर्दैछन् प्रमज्यूले नक्सा जारी गर्ने यो सही कदमलाई अब भूमि फिर्ता गर्ने दिगो संयन्त्रसँग जोड्दै सुझबुझका साथ परिणाममुखी काम गर्नुहुनेछ र यसका लागि सबैको साथ लिनुहुनेछ । दायित्वबाट पन्छिएर यो नक्साको कदाचित दुरुपयोग गर्नु हुनेछैन ।’
थापाले अन्तमा सोधे, ‘आशा जित्ला कि आशंका प्रमज्यू ?’