मुम्बईबाट एउटै बसमा नेपाल आएका थिए नरैनापुरका ४७ सङ्क्रमित

नरैनापुरका ४७ जना कोरोना संक्रमित भारतको मुम्बईबाट सँगै आएको खुलेको छ । दिल्लीसम्मको यात्रा बसमा गरेका उनीहरु त्यसपछि कहिले ट्रकमा त कहिले पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । नेपाल प्रवेशपछि भने क्वारेन्टिनमा राखिएकाले बाह्य व्यक्तिसँग सम्पर्कमा नरहेको बताइएको छ ।

सोमबार भेटिएका संक्रमितमध्ये धेरैलाई भोजपुरस्थित दीपेन्द्र माविको क्वारेन्टिनमा राखिएको थियो । त्यसअघि संक्रमण पुष्टि भएका आठ जनामध्ये दीपेन्द्र माविकै तीन र जयकिसान माविमा दुई, नेरा प्रावि शंकरनगरमा एक, आदर्श मावि लक्ष्मणपुरमा एक र नेरा प्रावि खुदहवामा एक जनालाई राखिएको थियो ।



गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले पनि संक्रमित सबै भारतको एउटै शहर मुम्बईबाट आएको जानकारी दिए । नरैनपुरका २३ क्वारेन्टाइनमा रहेका सबै गत वैशाख २१ देखि यही जेठ ३ गतेसम्म भारतबाट आएका हुन् ।

बाँकेको नरैनापुरमा सोमबार एकैदिन भेटिएका ५९ कोरोना सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा राखेर उपचार सेवा प्रदान गरिने भएको छ । ती सङ्क्रमितमध्ये नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा तयार गरिएको आइसोलेशन वार्डमा २५ र खजुराको क्यान्सर अस्पतालमा ३४ जनालाई राखेर उपचार सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार