अम्पुन आँधीको प्रभाव नेपालको कुन क्षेत्रमा कस्तो पर्छ ?

बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रत्यक्ष प्रभाव नेपाल नपर्ने मौसमविदले बताएका छन् । अम्पुन आँधी अहिले पनि समुद्रमै छ, तर उत्तर पूर्व तर्फ तीव्र गतिमा बढी रहेको अम्पुन बुधबार अपराहन्न वा बेलुकासम्म जमिनमा ठोक्किने मौसमविदले शान्ति कँडेलले जानकारी दिएकी छन् ।

मौसमविद कँडेलले भनिन्, ‘अम्पुन जति जति उत्तर पूर्व तर्फ बढ्दै जान्छ त्यति नेपालमा पनि प्रभाव देखिन्छ । तर यो आँधीको प्रत्यक्ष प्रभाव पर्ने होइन अर्थात अम्पुन आँधी नेपालसम्म आइपुग्दैन । भारतको पश्चिम बंगाल र सीमावर्ती बंगलादेशको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव रहन्छ ।’



उनले अघि भनिन्, ‘नेपालमा अम्पुन आँधीको अप्रत्यक्ष प्रभाव रहन्छ । अर्थात अम्पुनको पर–परको बादल नेपालमा आइपुग्छ । अहिले पूर्व र काठमाडौँसहितका क्षेत्रमा बदली भएको पनि अम्पुनकै कारण हो ।’

अम्पुनको प्रभाव नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिएको छ । यसका कारण सामन्यदेखि पूर्ण बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेष गरी बुधबार राति अम्पुनको प्रभावका कारण प्रदेश १ र २ तथा बागमती प्रदेशका काठमाडौँसहितका क्षेत्रमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले कँडेलले जानकारी दिइन् ।

अम्पुनका कारण नेपालमा भीषण वर्षाको सम्भावना नरहे पनि चट्याङ्ग तथा हावाहुरीबाट जोगिनका लागि सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

अम्पुनको प्रभाव गण्डकी प्रदेशमा केही परे पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने नपर्ने मौसमविदले बताएका छन्।

सम्बन्धित समाचार