नेपालको कुल क्षेत्रफल कति ? विगतमा उत्तर हुन्थ्योः १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर । अब यो उत्तर गलत हुनेछ । अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ भन्नुपर्नेछ ।
आजबाट नयाँ नक्शा सार्वजनिक भएपछि नेपालको क्षेत्रफल परिवर्तन हुने भएको हो । मुख्यसचिव लोकदर्शन रेग्मीले नयाँ नक्शा प्रमाणिकरण गरेका छन् । नापी विभाग हुँदै टिप्पणी उठाएर भुमी व्यवस्था मन्त्रालयका सचिव केदार न्यौपानेले मुख्यसचिव रेग्मी कहाँ लगेपछि नयाँ नक्शा प्रमाणिकरण भएको हो ।
नयाँ नक्शामा लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र पनि हुनेछ । यसअघि उक्त क्षेत्र नेपालको नक्शामा थिएन । मन्त्रिपरिषदको बैठकले नयाँ नक्शा पारित गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा नीति तथा कार्यक्रमबारे सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा अतिक्रमित भुमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए । उनले भारतको कडा आलोचना समेत गरेका थिए ।
लिपुलेक हुँदै भारतले चीनसँग जोड्ने लिंकरोड गत हप्ता निर्णय गरेपछि नेपालले आपत्ती जनाएको थियो । भारतीय सेनापति एम एम नरभानेले नेपालको आपत्तीलाई चीनको उक्साहट भनेका थिए । त्यसपछि नेपालले नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।