नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ । कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन् । आज थपिएका मात्रै नयाँ संक्रमित २५ जना रहेको स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । संक्रमितहरू ३ देखि ४८ वर्ष उमेरका छन् ।
देवकोटाका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएको बताए। हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण ३५ हजार ४ सय ९४ र आरडीटीबाट ७५ हजार ७२ जनाको परीक्षण गरिएको डा देवकोटाले बताए।
कोरोना भाइरसका कारण विश्वभर ३ लाख २५ हजार २१४ व्यक्तिको मृत्यु भैसकेको छ । संक्रमितको संख्या ५० लाख२ हजार ४३९ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका छन् ।