नवकान्तिपुर संवाददाता
बैतडी,७ जेठ ।
मेलौली नगरपालिका बैतडीले नेपाल भारत सीमामा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार गर्न आरम्भ गरेको छ । भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरिरहेका नेपाली नागरिकहरू यतिबेला कोरोना भाइरसका कारण घर फर्किन खोज्दा उनीहरू नेपाल भारत सिमानामा अलपत्र परेकाले नगरपालिकाले तिनीहरूको उद्वार गर्ने निर्णय गरेको हो ।
भारतका विभिन्न ठाउँबाट नेपाल आउन खोजेका आफ्ना नागरिकहरू सिमानामा अलपत्र परेकोले उनीहरूलाई सरकारको नियमअनुसार अनिवार्य क्वारेन्टाइनमा राख्ने गरी उनीहरूको उद्वार गर्न लागेको मेलौली नगरपलिकाका नगरप्रमुख कृष्णसिंह नायकले बताए । सरकारले विवदेशबाट कुनै पनि नागरिक तत्काल नेपाल नल्याउने र उनीहरू भएकै देशमा उचित व्यवस्था मिलाउने भने पनि सिमानामा अलपत्र परेका नागरिकलाई देख्दा आफू ढुक्क बस्न सक्ने अवस्था नभएकाले सबैसँग सहकार्य गरी आफ्ना नागरिकहरूको उद्वार गर्न लागेको नगरप्रमुख नायकको भनाइ रहेको छ ।
मेलौली नगरपालिकाअनुसार नगरपालिकाले हालसम्म कैलालीको गौरीफन्टा, पलियाबाट २६ जनाको उद्वार गरिसकेको छ भने कञ्चनपुरको दोधरा चादनीबाट पनि ल्याउने तयारी भैरहेको जानकारी गराइएको छ । त्यसैगरी बैतडीको पाटन नगरपालिका र शिवनाथ गाउँपालिकाले पनि आ–आफ्ना नागरिकहरूको उद्धार गरिरहेको बताएका छन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गत चैत ११ गतेदेखि र भारतमा चैत १२ देखि लकडाउन जारी रहेको छ, जसका कारण अहिले पनि नेपाल–भारत सिमानामा कयौं मजदुरहरू अलपत्र अवस्थामा छन् ।