कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख २९ हजार नाघ्यो, एकैदिन थपिए एक लाख संक्रमित

विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या आधा करोड नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोभिड–१९ संक्रमितको संख्या ५० लाख ८५ हजार ६६ पुगेको छ । साथै, हालसम्म विश्वभरी ३ लाख २९ हजार ७ सय २१ को मृत्यु भएको छ । यद्यपि २० लाख २१ हजार ६ सय ७२ जना निको समेत भइसकेका छन् ।

हालसम्म मृतक र संक्रमितको आधारमा कोरोनाभाइरसले सबैभन्दा प्रभावित बनाएको देशको शीर्ष स्थानमा अमेरिका रहेको छ । यहाँ हालसम्म ९४ हजार ९ सय ९४ को मृत्यु भएको छ भने १५ लाख ९१ हजार ९ सय ९१ संक्रमित रहेका छन् ।



यस्तै, रसियामा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । संक्रमितको संख्याको आधारमा रसिया दोस्रो स्थानमा रहेको छ । यहाँ हालसम्म ३ लाख ८ हजार ७ सय ५ संक्रमित रहेका छन् । यद्यपि, संक्रमितको तुलनामा यहाँ निकै कम व्यक्तिको मृत्यु भएको छ । हालसम्म यहाँ २ हजार ९ सय ७२ को भृत्यु भएको छ ।

बितेका २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन् । उक्त कुराको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो ।

कोरोना भाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन् । ‘अझै हामीले यो महामारीलाई अझै लामो समयसम्म भोग्नुपर्ने छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अहनोम घेब्रियेससले भनेका छन्, ‘निम्न र मध्यम आयस्तर भएका देशहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको घटनाले हामीलाई निक्कै चिन्तित बनाएको छ ।’

त्यसो त युरोप र अमेरिका लगायतका क्षेत्रहरुमा कोरोनाभाइरसका संक्रमणका घटनाहरुम कमी आइरहेका छन् । त्यसैले ती देशहरुले कोरोना भाइरसलाई नियन्त्रण र फैलिनबाट रोक्नका लागि लगाएका लकडाउनलाई खुकुलो पनि बनाउँदै लैजान थालेका छन् ।

सम्बन्धित समाचार