गौरीफन्टा नाकाबाट एकैदिन ८ सय ५८ नेपालीको उद्धार, र्‍यापिड किट नपाएपछि कोरोना टेस्ट भएन

सीमावर्ती गौरीफन्टा नाकाबाट बुधबार एकैदिन ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ । लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरी स्वदेश ल्याइएको हो । सीमामा अलपत्र परेका उनीहरुलाई बुधवार मध्यरातिसम्म उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार बुधबार मात्रै ८ सय ५८ जनालाई उद्धार गरिएको छ । लकडाउनका कारण नेपालमा रोकिएका ६ सय तीन जना भारतीय नागरिकलाई पनि भारत पठाइएको उनले जानकारी दिए । सूचना अधिकारी जोशीका अनुसार कैलालीका २ सय ६०, कञ्चनपुरका २ सय तीनसहित दर्जन बढी जिल्लाका नागरिकको उद्धार गरिएको हो। सबैलाई सम्बन्धित पालिकामा पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।



कैलाली र कञ्चनपुरका नागरिकलाई सम्बन्धित पालिकामा पठाइएको र अझै धनगढीमा ३ सय ९९ जनालाई राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । नवदुर्गा माविको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको र सम्बन्धित पालिकामा पठाउने तयारी भइरहेको छ ।

बुधबार क्वारेन्टाइनमा ल्याइएका नेपालीका लागि खानाको व्यवस्था कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले गरेका थिए। भएन र्‍यापिड टेस्ट नेपाल ल्याइएका उनीहरूको सीमामा र्‍यापिड टेस्ट भएको छैन । २ र ३ गते उद्धार गरिएका नेपालीको सीमामै र्‍यापिड टेस्ट गरिए पनि बुधबार उद्धार गरिएका नेपालीको भने टेस्ट भएको छैन । र्‍यापिड किट नपाएपछि ज्वरो मात्रै चेकजाँच गरिएको छ ।

सम्बन्धित समाचार