लिम्पियाधुरा र लिपुलेक नेपालकै हो, भारतले तथ्‍य स्वीकार्नैपर्छ : राजेश हमाल (भिडियाे सहित)

अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन् । हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्‍याउन आग्रह गरेका हुन् ।

‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ । हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ,’ उनले भनेका छन्, ‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ ।’



हमालले भारतले सत्य र तथ्यलाई नमानेको आरोप पनि लगाएका छन् । उनले अहिलेका नेपाली युवाहरू शिक्षित, सचेत भएको र नेपालीले न्याय अन्याय छुट्याउन सक्ने पनि बताएका छन्। ‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्,’ उनले भनेका छन्, ‘नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ ।’

भिडियो :

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2632851130263061/

उनले भारतले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको पनि बताएका छन् । ‘भारतले निरन्तर नेपाली भूमि दाबी गर्नाले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको छ । यो साँच्चै नेपालीको लागि अस्वीकार्य छ’ उनले भनेका छन् । उनले नेपाली भूमि जोगाउन पुर्खाले ठूलो बलिदान र संघर्ष गरेकोले भारतलाई भूमि अतिक्रमण नगर्न भनेका छन् । उनले कूटनीतिक तवरले विवाद हल गर्नुपर्ने बताएका छन्। भारतले सत्य स्वीकार्नै पर्ने पनि बताएका छन् ।

हमालले भारतलाई सीमा अतिक्रमण गर्न छोडेर यस क्षेत्रको कोरोनाको महामारी अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्न सुझाब पनि दिएका छन् ।

नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ । भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार