कतारमा रहेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । हत्या अभियोगमा महोत्तरी औराही–१,का अनिल चौधरीलाई मृत्युदण्ड दिएको जनाइएको छ । चौधरीमाथि कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।
उनी हत्या गरेको अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको आरोप ठहर गरिएको थियो । उनले हत्या गरेको अभियोगमा त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेको थियो । भने सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो।
कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो हो । त्यस्तै नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । तर कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् ।
उनी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदुरको काम गर्थे । हत्या आरोप प्रमाणित भएसँगै उनलाई केन्द्रीय कारगारमा राखिएको थियो । चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ। नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ ।