अभिनेता निकको स्वास्थ्य जटिल

लामो समयदेखि कोरोनासँग लडिरहेका अभिनेता निक कार्डेरोको स्वास्थ्य जटिल बन्दै गएको उनकी पत्नीले जनाएकी छन् ।

निकपत्नी अमान्डाले बुधबार इन्स्टाग्राममा लाइभमा रुँदै निकको स्वास्थ्य झ्न बिग्रिँदै गएको भन्दै प्रार्थना गरिदिन आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, ‘निकको आजको बिहानी नराम्रो भएको छ । दुर्भाग्यवश, स्थिति खराब हुँदै गएको छ । त्यसैले म फेरि सबैलाई प्रार्थना गरिदिन आग्रह गर्छु ।’



मार्च अन्तिम सातादेखि कोरोनाको उपचारका लागि अस्पतालमा रहेका निकको संक्रमणकै कारण दायाँ खुट्टा गुमाउनुपरेको थियो । निक लामो समय कोमामा पनि पुगेका थिए ।

‘कृपया निकका लागि प्रार्थना गरिदिनुहोला । मलाई थाहा छ यो भाइरसले उसलाई कमजोर बनाउन सक्दैन । त्यसैले हामीलाई तपाईंको प्रार्थनामा सम्झिनुहोस्,’ अमान्डाले भनिन् । दायाँ खुट्टाको शल्यक्रियाको केही सातामै अमान्डाले निक कोमाबाट बाहिरिएको र विस्तारै ठीक भइरहेको बताएकी थिइन् ।

अमान्डाको इन्स्टाग्राम पोस्टपछि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत निकको स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्बन्धित समाचार