आफ्नो अभिव्यक्तिप्रति माफी मागिन् वर्षाले

नायिका बर्षा राउतले नेपाल भारत सीमा विवादबारे आफ्नो एक अभिव्यक्तिप्रति माफी मागेकी छन् । उनले यस्ता गम्भीर विषयमा अभिव्यक्ति दिँदा अब देखि पक्कै पनि हेक्का राख्ने बताएकी छन् ।

नेपाल भारत सीमा विवादलाई लिएर नायिका राउतले दुवै देशका राजनीतिज्ञले मिलेर यो समस्या हल गर्नुपर्नेमा अहिले पत्रकारहरुले लडाईँ गरिरहेकोले आफ्ना भारतीय समर्थक रिसाएको भाव झल्कने अभिव्यक्ति दिएकी थिइन् । जसको सामाजिक सञ्चालमा चर्को आलोचना भयो ।



आलोचकहरु बढेपछि बर्षाले आइतबार बिहान फेसबुकमार्फत माफी माग्दै आगामी दिनमा अभिव्यक्ति दिँदा हेक्का राख्ने बताएकी हुन् ।

‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु’, बर्षाले भनेकी छन् । अन्तरवार्तालाई लिएर भइरहेको आलोचनाले आफूमा भावनात्मक ठेस पुगेको बर्षाले बताएकी छन् ।

‘हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथितल परेकी छैन’, बर्षाले भनेकी छन् ।

उनले भनेकी छन्, ‘संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र रु त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

उनले भनेकी छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटीबेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ । नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजुभाइ दिदीबहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु ।’

सम्बन्धित समाचार