काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बिरामीहरुको संख्या ३५ पुगेको छ । सोमबार बिहान थप तीनजनामा संक्रमण पुष्टि भएसँगै काठमाडौँमा कोरोना संक्रमित बिरामीको संख्या ३५ पुगेको हो ।
उनीहरुमध्ये शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पाँच जना तथा बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा १५ जनाको उपचार भइरहेको छ ।
यस्तै पाटन अस्पतालमा १२ जना र त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टरमा एकजना कोरोनाका बिरामी उपचारका लागि भर्ना भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहान काठमाडौँको टोखाका दुईजना र बुढानिलकण्ठका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु तीनैजनालाई पनि उपचारका लागि टेकु अस्पतालमा भर्ना गर्ने तयारी छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ उपत्यका नै स्थायी ठेगाना भएका संक्रमितहरुको संख्या कम भए पनि बाहिर जिल्लाबाट यहाँ आएर बसोबास गरिरहेकाहरुका कारण संख्या बढेको हो ।
आइतबार संक्रमण पुष्टि भएका काठमाडौ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष र नुवाकोट ककनी–३ का ३९ वर्षीय पुरुषलाई पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ ।
काठमाडौँमा रहेका संक्रमितमध्ये अधिकांश यहाँ अध्ययन तथा रोजगारीका लागि डेरा गरी बस्नेहरु रहेका बताइएको छ ।