अमेरिकामा भन्दा ब्राजिलमा दैनिक मृत्यु धेरै

कोरोना भाइरसको महामारी दक्षिण अमेरिकी देश ब्राजिलमा अहिले चिन्ताजनक रुपमा बढिरहेको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा भन्दा ब्राजिलमा दैनिक मृत्यु बढी देखिएको छ ।

सोमबार अमेरिकामा कोभिड–१९ बाट ६२० जनाको ज्यान गएकोमा ब्राजिलमा ८०७ जनाको मृत्यु भएको हो । ब्राजिलमा दैनिक मृत्यु अमेरिकामा भन्दा धेरै भएको यो पहिलो पटक हो ।



जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ७४ हजार भन्दा बढी पुगेको छ । यस्तै त्यहाँ कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २३ हजार ४७३ पुगेको छ ।

राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारी फैलिनुमा प्रान्तका गभर्नरहरु तथा शहरका मेयरहरु रहेको भन्दै आफू पन्छिन खोजेका छन् ।

राष्ट्रपति बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिएका छैनन् । उनले संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु गरेका छैनन् देशभर, यस्तो गर्दा अर्थतन्त्रमा असर पर्ने उनको भनाई छ ।

विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिलमा दोस्रो स्थानमा छ । अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर कम हुँदै गएको अमेरिकामा अहिलेसम्म १६ लाख ६२ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९८ हजार २२० जनाको ज्यान गइसकेको छ ।

विश्वभर हालसम्म झण्डै ५५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा अहिलेसम्म ५४ लाख ९५ हजार मानिसमा संक्रमण पुष्टि भएको छ । यस्तै ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार भन्दा बढी पुगेको छ ।

सम्बन्धित समाचार