क्वारेन्टाइनमा बसेकी २६ वर्षीया युवतीको मृत्यु

६ दिन अघि भारतबाट प्युठान आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी २६ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए ।



मल्लरामी गाउँपालिका वडा नम्बर ४ गहतेराकी ती महिला जेठ ८ गते श्रीमान्, भाइ र छोराछोरीसहित भारतबाट नेपाल आएकी थिइन् । महिलामा लामो समय देखि ब्रेन ट्यूमरको समस्या रहेको बताइएको छ ।

परिवारका पाँच जना सदस्यको आरडिटीको परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए ।

‘परिवारका सदस्यको रिपोर्ट पोजेटिभ आएको भए मृत्यु हुनुभएकी महिलाको स्वाव संकलन गरेर पीसीआरको लागि पठाउनु पर्ने हुन्थ्यो । तर, रिपोर्ट नेगेटिभ आएपछि उहाँको स्वाव संकलन गरिएन’, उनले भने ।

क्वारेन्टाइनको कार्यविधि अनुसार भौतिक दूरी कायम राखेर शवको व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार