सञ्चारमाध्यमसँग देउवाको अपीलः अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी बढाउ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा औल्याउँदै खबरदारीका लागि सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा गरिएको भर्चुअल बैठकमा देउवाले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्ने देखिएकाले सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए ।



कोरोना महामारी रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देउवाले भने, ‘लकडाउन भएको दुई महिना पूरा भयो, पर्याप्त परीक्षण छैन । क्वारेन्टिन कि गाई गोठ सोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ ।’

भ्रष्टाचार र अनियमितताको समाचार लेख्दा प्रधानमन्त्रीले सञ्चार माध्यमलाई धन्यवाद दिनुपर्नेमा उल्टै अस्थिरता फैलाएको आरोप लगाएको टिप्पणी गर्दै उनले भने, ‘म उहाँलाई प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । सञ्चार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।’

देउवाले कोरोना महामारीको जोखिममा पत्रकारिताको काम सजिलो नभएको भन्दै देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । उनले देशभरका पत्रकारको कोरोना परीक्षण गराउन पनि भनेका छन् ।

कोरोना महामारीका कारण सञ्चार माध्यम र पत्रकारहरु समस्यामा रहेको भन्दै देउवाले पत्रकारिता क्षेत्रले भोगेको चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग पनि गरे ।

सम्बन्धित समाचार