रुकुम घटनामा भेरी नदीमा हराइरहेकामध्ये एक युवाको शव चार दिनपछि फेला

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बुधबार फेला परेको छ ।

घटनाको चार दिनपछि थप एक युवाको शव फेला परेको हो। अझै दुई जना बेपत्ता छन्। शसस्त्र प्रहरीको गोताखोर टोलीले ती युवकको शव फेला पारेको हो। गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो ।



घटनामा यसअघि तीन जनाको शव भेरी नदीमै फेला परेको छ। जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए ।

उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ ।

नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनी भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो ।

अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो। यस घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ। प्रहरीले युवतीका बुबाआमा र वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिसकेको छ ।

घटनापछि समूहका १२ जनालाई भने सोतीका गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए ।

सम्बन्धित समाचार