आमाको हत्यापछि छोराले गरे आत्महत्या

मोरङको बेलबारी नगरपालिकामा आमाको हत्या गरेर छोराले आत्महत्या गरेका छन् । बिहीबार बेलबारी बुधबारेमा ईंटा प्रहार गरेका ३१ वर्षीय छोरा जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेका हुन् ।

सो घटनापछि जीवनले आफैलाई समेत तरकारी काट्ने चक्कुले घाँटी रेटेर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् ।



प्रहरी निरीक्षक ढकालका अनुसार जीवनले घरायसी विवाद बढ्दै जाने क्रममा आमामाथि ईंटा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विवाद बढेपछि आमामाथि ईंटा प्रहार गरेर हत्या गरेपछि आत्महत्या गरेको प्रहरी निरीक्षक ढकालले बताए ।

प्रहरीले घरभित्र भुइँमा रगत लतपतिएको अवस्थामा बिहान ११ बजे देवीमायाको शव भेटेको थियो । घरमा आमा छोरा मात्रै बस्दै आएको र उनीहरुबीच के विवाद भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरी निरीक्षक ढकालले बताए ।

घटनास्थलबाट प्रहरीले आमाको हत्यामा प्रयोग गरेको ईंटा र जीवनले आत्महत्याका क्रममा प्रयोग गरेको चक्कु समेत फेला पारेको छ । चक्कुले घाँटीमा प्रहार गरी घाइते भएका जीवनलाई प्रहरीले उपचारका लागि बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा पुर्‍याएको थियो । यद्यपि जीवनलाई उपचारकै क्रममा १२ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

अविवाहित जीवन लागुऔषध र मादक पदार्थ सेवनकर्ता रहेको र नशाकै क्रममा आमाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार