झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ को संक्रमण भेटिएको छ । जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयकाअनुसार विहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि ४८ जनालाई संक्रमण पुष्टि भई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो । पालिकाका अध्यक्ष अञ्जार आलमले विहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए । संक्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएकाहरू भएको उनले जानकारी दिए ।
‘जति पनि सङ्क्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन्’, उनले भने, ‘सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय सङ्क्रमित हुनबाट जोगियो ।’ उनकाअनुसार पालिकाभित्रका छ क्वारेन्टाइनमा राखिएकामध्ये २७६ को स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो ।
जसमध्ये ७३ को रिपोर्टमा संक्रमण पुष्टि भइसकेको छ भने ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ । पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टाइन निर्माण गरिएको उनले बताए । क्वारेन्टिनमा बसेकामध्ये १०० जनाको स्वाब परीक्षण गर्न अझै बाँकी रहेको उनको भनाइ छ । झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई–दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ ।
जसमध्ये दमक र बाह्रदशीका एक–एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताए । पौडलले प्रदेश नं १ मा मात्र सङ्क्रमितको सङ्ख्या १२९ पुगेको र सबैभन्दा बढी झापाको रहेको जानकारी दिए । – रासस