तेह्रथुमको म्याङलुङ नगरपालिका- १ बसपार्कस्थित सन्तोषी होटलमा गत मंगलबार अपरान्ह २२ वर्षीया युवती झुन्डिएको अवस्थामा फेला परिन् ।
नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ चार दिनयता बसिरहेको होटलको कोठामा ती युवती मृत अवस्थामा भेटिएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती जेठ १२ गत त्यहाँ बस्न आएको पाइएको छ ।
मोरङको उर्लाबारी घर भएकी ती युवती अविवाहित हुन् । उनी तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा काम गर्दै आएकी थिइन् डेढ वर्षयता । अनुसन्धानमा तामाङ ठेक्केदार रहेको र उनीपनि सोही स्वास्थ्यचौकीको निर्माण सम्बन्धी काममा संलग्न रहेको पाइएको छ ।
तेह्रथुम प्रहरी प्रमुख नवीन प्रधानले तामाङ र ती युवती एक वर्षयता प्रेम सम्बन्धमा रहेको र श्रीमान-श्रीमती जसरी बसिरहेको पाइएको बताए । उनले भने- म्याङलुङमा कोठा लिएर बस्ने तयारीसमेत भएको रहेछ । कोठासमेत खोजी गरिरहेका रहेछन् ।
उनले ती युवतीले आत्महत्या नै गरेको तर त्यसको कारण भने खुल्न नसकेको बताए । उनले भने- तामाङले त्यस्तो कुनैपनि विवाद र सम्बन्ध बिग्रिएको अवस्था नभएको बताएका छन् । म्याङलुङबाट एक घण्टाको बस यात्रापछि मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकी पुगिन्छ। ती युवती स्वास्थ्यचौकीमै रहेको क्वाटरमा बस्दै आएकी थिइन् ।
अनुसन्धानका क्रममा ३८ वर्षीया तामाङका दुई वटा श्रीमती रहेको पाइएको छ । उनका दुवै श्रीमती नुवाकोटमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले आत्महत्या दुरुत्साहन कसुरमा तामाङमाथि अनुसन्धान अगाडि बढाएको छ ।