नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । विहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यस्तै तीन भारतीय पनि भारत गएको उनले बताए ।
यसअघि शुक्रबार २८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने नौ भारतीय नागरिकलाई भारत पठाइएको थियो । विहीबार पनि उक्त नाकाबाट ५७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो । स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् । स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।
उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ । भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै भित्र्याउँदा सङ्क्रमणको जोखिम बढेको छ ।
किट अभावः कोरोना परीक्षण हुन सकेन
बैतडीमा भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि आरडिटी किट अभाव भएको छ । क्वारेन्टिनमा चार हजार ६०० भन्दा बढी नागरिक बसे पनि जिल्लामा ८०० मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । सबै पालिकामा पठाएको समेत गनेर अहिले ८०० किट मात्रै मौज्दात रहेको उनले बताए ।
क्वारेन्टिनमा अहिले बसिरहेका नागरिक भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । क्वारेन्टिनमा बसेकाहरुको आरडिटी मात्रै नभएर पिसीआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताउनुभयो । जिल्लामा भारतबाट फर्कने नागरिकको सङ्ख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि आरडिटी किट अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताए । जिल्लामा आरडिटी किट अभाव भएपछि प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको उनले बताए ।