बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।
उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेशनमा राखिएकी बालिकाको अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा जेठ १५ गते साँझ राखिएको थियो । ८ दिन अगाडि उनको परिवार भारतबाट आएका थिए ।
बालिकाको मृत्यु कोभिड–१९ कै कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।