संविधान संशोधन प्रस्ताव संसदमा पेस

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस भएको छ । संसदमा सरकारकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संशोधन प्रस्ताव पेस गरेकी हुन् । नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा रहेको निशान चिन्हमा समेत संशोधन गर्न आवश्यक देखिएपछि संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

कानूनमन्त्रीले पेश गरेको संविधान संशोधन प्रस्तावमाथि थप संशोधनका लागि ३ दिनको समय दिनुपर्ने संसद नियमावलीमा व्यवस्था रहेको छ । ७२ घण्टाभित्र कुनै पनि सांसदले प्रस्तावमाथि संशोधन दर्ता गर्नका लागि समय निर्धारण हुने र त्यसपछि संशोधन विधेयकमाथि छलफल भइ संविधानको अंग बन्नेछ ।



दलबीच नियमावलीको व्यवस्था निलम्बन गर्न सहमति जुट्यो भने ७२ घण्टा समेत निलम्बन हुनसक्ने व्यवस्था समेत छ । यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

तुम्बाहाङ्फेले संविधान संसोधन विधेयक प्रस्तुत गरेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु भएको छ ।

सम्बन्धित समाचार