चार वर्षीया बालिकासहित २५ जनाले जिते कोरोना

रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा आईसोलेशनमा रहेका २५ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्।

प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीका अनुसार निको भएर फर्किएकाहरु अधिकांश कपिलवस्तुका हुन् ।



डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जसमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना रहेका छन् । उनीहरु सबैलाई गत वैशाख ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केकाहरू हुन् । सोमबार डिस्चार्ज हुने सबैलाई पुुष्पगुुच्छासहित बिदाइ गरिएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।

उनीहरूलाई बिदाइ गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सांसद सन्तोष पाण्डेय अस्पताल पुुगेका थिए । यसअघि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तरगत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना संक्रमित आइतबार डिस्चार्ज भएका थिए ।

योसँगै प्रदेश ५ मा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७७ पुगेको छ ।

सम्बन्धित समाचार