कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ बन्दै गएको कणार्लीमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १९८ पुगेको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित हुनेमा दैलेखको नारायण नगरपालिका १, ३, ४, ५, ८ र १० का १० देखि ३६ वर्षसम्मका १५ जना पुरुष रहेका छन् ।
यस्तै दैलेखकै महाबु गाउँपालिकाका २५ वर्षे पुरुष, सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको १, ३, ५, ६ र ७ वडाका २० देखि ३६ वर्षसम्मका १० जना पुरुषमा पनि संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखामा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।
यसैगरी सुर्खेतको बराहताल गाउँपालिकाको वडा नम्बर १ र १० का २० देखि २६ वर्षका पाँच पुरुषमा पनि संक्रमण देखिएको हो ।
कर्णालीमा दश जिल्लामा मध्ये हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म संक्रमण देखिएको छैन ।