
राष्ट्रियसभा सदस्यहरुले विभिन्न प्रदेशहरुमा कोरोना भाइरसको परीक्षण किटको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्ने सदस्यले भारतबाट आउनेहरुलाई विना परीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट अभाव रहेको बताएका छन् ।
राष्ट्रियसभा सदस्य इन्दु कडरियाले भारतबाट फर्किनेहरुको कुनै परीक्षण नगरी गाउँ फर्किने क्रम बढेको बताइन् । लक डाउनको समयमा बढाएर देशमा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले आगामी दिनमा लक डाउनको मोडालिटी परीवर्तन गरी आर्थिक गतिविधि अगाडि बढाउने गरी काम गर्न आग्रह गरे ।
सदस्य कोमल वलीले क्वारेन्टिन सुधारमा सरकारको ध्यान जान नसकेको बताइन् । प्रदेश नम्बर ५ मा संक्रमणको दर उच्च रहे पनि परीक्षण किटहरुको अभाव रहेको प्रति उहाँले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य उदया शर्मा पौडेलले कोरोना संक्रमणको जोखिम मोलेर पनि निरन्तर सेवामा खटिएको संसद सचिवालयका कर्मचारी लगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहनको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउनुपर्ने बताए ।
सांसद तारादेवी भट्टले सुदूरपश्चिममा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नुहँदा संक्रमणको दर बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
