
प्रदेश १ मा झापाका १७ पुरुष र सुनसरीको धरानकी एक महिला गरी १८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् । सोमबार राति धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनीहरु डिस्चार्ज भएका हुन् ।
प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार सबै १८ जनाको लगातार दोस्रोपटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १७ वर्षदेखि ५२ वर्ष उमेर समूहका रहेको प्रवक्ता डा। सापकोटाले जानकारी दिए ।
डिस्चार्ज हुने झापाका १७ जना पुरुष जेठ ९ गते र धरानकी महिलालाई जेठ ८ गते अस्पतालमा भर्ना गरिएका थियो । विपि कोरोना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ९८ जना संक्रमित भर्ना भएकोमा अब ८० जना छन् ।
प्रदेश १ मा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४८ पुगेको छ। यसअघि विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ३० जना संक्रमण मुक्त भएर घर फर्किएका थिए ।
