नगरपालिकाले गर्यो लकडाउन खुकुलो बनाउने निर्णय

बूढानीलकण्ठ नगरपालिकाले अत्यावश्यक वस्तुको व्यापार तथा व्यवसायलाई सहज बनाउने भएको छ। नगरपालिका, कोभिड–१९ महामारी रोकथाम लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिको आजको बैठकले मानिसको दैनिक जीवनयापन सहज बनाउन अत्यावश्यक वस्तुको व्यापार र ओसारपसार सहज बनाउने निर्णय गरेको हो।

बैठकले विकासनिर्माणका सामग्रीको खरीदबिक्री सामाजिक दूरी कायम गरी खुला गर्ने निर्णय गरेको छ। अत्यावश्यकबाहेकका फेन्सी, कपडा, स्टेशनरी र विद्युतीय सामग्रीको खरीदबिक्री बिहान १० बजेसम्म खोल्ने बताइएको छ।



त्यस्तै नगरभित्र काम गर्ने कामदार, मर्मतसम्भार कार्यकर्ता र मिस्त्रीलाई साइकल र मोटरसाइकलमा हिँड्न दिने व्यवस्था गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। उनका अनुसार हरेक पसलमा हात धुने व्यवस्था, स्यानिटाइजर, सामाजिक दूरी रेखासहित घेरा बनाई अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्दिर, चर्च, मस्जिद, मेला, भोज, पार्टी, जात्रालगायत कार्य भने पूर्ण बन्द गरेको सो बैठकले नगरपालिकामा सञ्चालित ब्युटीपार्लर, सैलुन, होटल, रेष्टुँरा, जिमखाना र क्लब खोल्न नपाइने निर्णय गरेको छ । सामूहिक हाट र सडक व्यापार जस्ता भीड हुने स्थल बन्द गर्ने नगरपालिकाले जनाएको छ।

बैठकले नगरमा स्थायी वा अस्थायी बसोबास गर्ने र विदेशमा अध्ययन, रोजगार तथा अन्य कामले रहेका व्यक्तिबारे सही विवरण बुझाउन र नगरपालिकाले तयार गरेको डिजिटल फाराम भर्न सम्बन्धित परिवारमा आग्रह गरेको छ ।

सम्बन्धित समाचार