नवकान्तिपुर संवाददाता
काठमाडौं, जेठ २१ ।
अमेरिकामा मे २५ का दिन जर्ज भन्ने काला जातिका मानिसलाई २० डलरको जाली नोट प्रयोग गरेको आरोपमा पक्रिएको थियो र एकजना पुलिसले निजलाई जमीनमा पल्टाएर उसको गर्दनलाई आफ्नो घुँडामुनि दबाएर राखेका थिए । यसैक्रममा जर्जको मृत्यु भयो । त्यसपछि कालाजातिलगायत उनका समर्थकहरू सरकारी रवैयाको विरोधमा सडकमा उत्रिए । विरोध हिंसामा परिणत भयो र अनियन्त्रित हिंसाले अमेरिकालाई युद्धभूमिकोे अवस्थामा पु-याएको जस्तो देखियोे । अहिले अमेरिकामा जताततै हिंसा भड्किएको छ र स्थिति अराजक बनेको छ । जर्जलाई पुलिसले ७ मिनेटसम्म घुँडाले घाँटी अँठ्याएर मारेका थिए । जर्जले धेरैचोटि I can’t breathe भनेका थिए तर पुलिसले उनको अनुरोधलाई नकार्दै उनी नमर्दासम्म घाँटी अठ्याई रहे भनेर समाचारमा भनिएको छ ।
उक्त घटनापछि अमेरिकामा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले एक प्रेस कन्फ्रेन्स गरे र अराजकता फैलाउने व्यक्तिहरू माथि कडा कारवाही गरिनेछ भने । राष्ट्रपतिले ती राज्यहरूलाई स्पष्ट शब्दमा चेतावनी दिए जसले राज्यमा भएको उपद्रवको विरूद्ध कुनै एक्शन लिएका छैनन्, ती राज्यहरूमा सेना तैनाथ गरिने छ । गएको मे २५ दिन भएको यस घटनापछि अमेरिकाका करिब चालिसभन्दा बढी राज्यहरूमा हिंसक प्रदर्शन भैरहेको छ र भारी मात्रामा धनसम्पत्तिको नोक्सान भएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले भने, ‘जार्ज फ्लायडको निर्मम हत्याबाट सारा अमेरिकीहरू दुःखी छन् र उनीहरूको मनमा एउटा आक्रोस पनि छ । जर्ज र उनको परिवारलाई न्याय दिलाउन हामीले कुनै कसर छाड्ने छैनौं । मेरो प्रशासनको तर्फबाट उनलाई पूर्ण न्याय मिल्नेछ तर देशको राष्ट्रपतिको रूपमा मेरो पहिलो प्राथमिकता यस महान् देश र यसको नागरिकहरूको हितको रक्षा गर्नु हो ।’
उनी अगाडि भन्दछन्, ‘सबभन्दा पहिले हामी हाम्रो देशमा फैलिएको दङ्गा र अराजकताको स्थितिलाई अन्त्य गर्ने छौं । मैले सबै गवर्नरहरूलाई यो भनेको छु कि उनीहरूले आवश्यकताअनुसार नेशनल गार्डलाई तैनाथ गरून् जसले गर्दा सडकमा अराजकता नहोस् । जबसम्म हिंसाको दमन हुँदैन तबसम्म मेयर र गवर्नरहरूले कानुनलाई कडा रूपमा लागू गर्नु पर्दछ ।’
ट्रम्प भन्दछन्, ‘यदि कुनै शहर वा राज्यले ज्यानमालको सुरक्षाको लागि कडा एक्सन लिन अस्वीकार गरे भने म सेनालाई तैनाथ गर्नेछु र समस्यालाई हल गर्नेछु । म यस आतंकको आयोजकसँग यो भन्न चाहन्छु कि तपाईहरूले कानुनको सामना गर्नुपर्दछ र जेल जानुपर्दछ ।’
हिंस्रक प्रदर्शनको सातौं दिन अमेरिकामा आक्रोसपूर्ण भावना उर्लेको छ । अहिलेसम्म भएका हिंस्रक प्रदर्शनमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भइसकेको छ, हजारौं व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ अनि करिब ४० शहरमा कफ्र्यु लगाइएको छ ।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाको निमित्त व्हाइट हाउसको बंकरमा एक घण्टासम्म शरण लिनुपरको समाचारमा जनाइएको छ । व्हाइट हाउसको सबै बत्ती निभाइएको थियो । अमेरिकामा गएका केही दशक यताकै सबभन्दा ठूलो अशान्ति मानिएको यस हिंस्रक प्रदर्शन अमेरिकाका कमसेकम १४० शहरमा फैलिएको जनाइएको छ ।
अमेरिकी हिंसाका बारेमा सञ्चारमाध्यमहरू
वासिंग्टन पोस्टले लेखेको छ– देशको धेरै भागमा प्रदर्शनले उपद्रव रूप लिएपछि कमसेकम पाँच जनाको मृत्यु भएको छ । पुलिसले सप्ताहको अन्त्यसम्ममा दुई दर्जन अमेरिकी शहरबाट कमसेकम २,५६४ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । यी मध्ये २० प्रतिशत गिरफ्तारी लस एन्जलसमा भएको थियो । यो अशान्ति शुरूआतमा मिनेसोटाको मिनीपोलिसबाट शुरू भएको थियो तर अब यो पूरै देशमा फैलिएको छ ।
न्यूयोर्क टाइम्सको समाचारमा भनिएको छ– ‘अमेरिकामा पुलिसको हातबाट एउटा अश्वेत व्यक्तिको हत्यापछि राष्ट्रव्यापी अशान्तिको छैठौं दिन आइतवार पनि हिंसा र आक्रोसको विस्फोटक स्थिति बनेको छ ।’