स्वास्थ्य संकटकाल लगाउने तयारी, प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

नेपालमा कोरोना भाइरस थप आक्रमक देखिएपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने भएको छ । यसबारेमा निर्णय गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको उच्च अधिकारीले जानकारी दिए । मन्त्रालयले यसअघि नै कोरोना संक्रमितको संख्या २ हजार नाघेमा स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको थियो ।

सोहीअनुसार बुधबार सो सम्बन्धि निर्णय भएको छ । मन्त्रालयको निर्णय उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद बैठकमा लैजाने तयारी भएको छ । डब्लुएचओले पनि कोरोना संक्रमित २ हजार नाघेमा उक्त देशलाई स्वास्थ्य संकटकाल घोषणा गरेर थप शतर्कता अपनाउन सुझाव दिने गरेको छ ।



नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २३ सय पुगेको छ । हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् । ९ जनाको भने निधन भैसकेको छ ।

सम्बन्धित समाचार