लकडाउन खुकुलो पार्ने सम्बन्धमा विज्ञहरुले दिए यस्तो सुझाव

प्रधानमन्त्री केपी ओलीले लकडाउनको स्वरुप परिवर्तनबारे निर्णय लिन आज विज्ञहरुसँग छलफल गरेका छन् । ओलीले स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाइ परामर्श लिएका हुन् । छलफलमा स्वर्णिम वाग्ले, डा भगवान् कोइराला, डा लोचन कार्की लगायतको समूह उपस्थित थिए ।

विज्ञहरुको सुझावमा तह तह गरेर लकडाउन खुकुलो पारेर लैजाने सुझाव आएको कोभिड १९ उच्चस्तरीय समन्वय समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । विहीबार पनि सरोकारवाला निकायसँग छलफल गर्ने र बन्दाबन्दीको नयाँ मोडालिटिको खाका तयार हुने समितिले जनाएको छ ।



मोडालिटी परिवर्तनको जिम्मेवारी पाएको उच्चस्तरीय समन्वय समितिले पनि आफ्नो राय बुझाइसकेकोले सोही रायलाई आधार मानि लकडाउनको स्वरुप परिवर्तन गरिने तयारी गरिएको छ । उच्च स्तरीय समितिले मङ्गलवार उद्योग व्यवसायी र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको थियो। उद्योगीहरुले एरिया छुट्टाएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने सुझाव दिएका थिए। पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ। त्यस अगावै मोडालिटी परिवर्तन गर्न समितिले सरकारलाई सुझाव दिएको थियो ।

कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ । यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पारिसकेको छ ।

काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि लकडाउन खुकुलो बनाउन सीसीएमसीले सुझाव दिएको छ । रेष्टुरेन्टहरुमा पनि शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउने र पछि विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाउँदै जान सकिने सुझावमा उल्लेख छ ।

सम्बन्धित समाचार